Freesansar

www.freesansar.com
December 02,2012

झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ, काम कम कुरा मात्रै बढी

Updated on:  Friday, December 21, 2012

ललितपुर, ६ पुस (अन्जली रम्तेल)। ललितपुरका विभिन्न स्थानमा झोलुङ्गे पुल बन्ने क्रमले निरन्तरता पाए पनि पुल निर्माणको जिम्मा पाएका निकायले भने समयमै निर्माण कार्य सम्पन्न गर्न सकेका छैनन् ।

यस वर्ष पनि ललितपुरका विभिन्न गाविसमा सातवटा झोलुङ्गे पुलको निर्माण कार्य भइरहेको छ । तीमध्ये छवटा झोलुङ्गे पुल निर्माणको जिम्मा उपभोक्ता समितिले लिएको छ ।


जिल्ला विकास समिति ललितपुरका स्थानीय विकास अधिकारी राजकुमार श्रेष्ठ भन्नुहुन्छ,— “उपभोक्ताले समयमा काम नगरिदिँदा प्रत्येक सामानको भाउ समयसँगै बढ्ने गर्छ, अनि उनीहरु भाउ पनि बढाउनुप¥यो भन्दै आउँछन् । जसको कारण निर्माण कार्य झन् ढिलो हुने गर्छ ।”

“सातवटा पुल निर्माण गर्न जिविसले कुल रु एक करोड ४६ लाख बजेट विनियोजन गरेको छ ।” यदि प्राविधिक र सामानकै कारण निर्माण कार्यमा ढिलाइ भइरहेको भए आफूले तीन महिनाभित्र सम्पूर्ण काम सूचारु गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ जिल्लाका कालेश्वर, गिम्दी, देवीचौर, इकुडोल, माल्टा, ठूलादुर्लुङ् र प्युटारमा झोलुङ्गे पुल निर्माण कार्य सञ्चालन भइरहेको छ ।

जिल्ला आयोजना कार्यालयका अनुसार काठमाडौँको छैमले र ललितपुर जोड्ने देवीचौर झोलुङ्गे पुल, मकवानपुरसँग ललितपुर जोड्ने प्युटार मन्थली र काभ्रेको च्याम्राङ्बँेसीसँग जोड्ने कालेश्वरमा झोलुङ्गे पुल निर्माण भइरहेको छ ।

निर्माणाधीन सात पुलमध्ये प्युटार झोलुङ्गे पुल मात्र निर्माण गर्न ठेकेदारलाई जिम्मा दिइएको छ । १२० मिटरभन्दा लामो पुल निर्माणका लागि बोलपत्र आह्वान गर्नुपर्ने नियमानुसार प्युटारको पुलको जिम्मा ठेकेदारलाई दिइएको आयोजना कार्यालयका सव इन्जिनियर सरस्वती घिमिरेले बताउनुभयो । सो पुलको लम्बाइ १४८ मिटर रहेको छ ।

एक वर्षअघि नै निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भए पनि विभिन्न कारणले निर्माण कार्य सम्पन्न नभएपछि हाल पुनः यस वर्षका लागि प्युटारस्थित पुलको म्याद थप गरिएको थियो ।

उपभोक्ता समितिले समयसमयमा विभिन्न प्रकारका अड्को थापी काम ठप्प पार्ने गरेका कारण ती पुलको निर्माण कार्य पूरा हुन सकेको छैन, उहाँले भन्नुभयो ।

करिब चार वर्षअघि जिविसले प्रकाशित गरेको सूचनाका आधारमा ५५ वटा झोलुङ्गे पुल निर्माणका लागि आवेदन परेका थिए । तीमध्ये ३३ वटालाई पहिलो चरणको छनोटमा पारिएको थियो । इन्जिनियर घिमिरेका अनुसार स्थलगत अध्ययनपछि ३३ वटामध्ये करिब पाँचवटालाई रद्द गरियो ।

एक किलोमिटरको दूरीमा करिब एक घन्टा हिँड्नुपर्ने बाटोमा पुल निर्माण हुनुपर्ने नियमानुसार गत वर्ष पाँचवटा मात्र निर्माण गर्ने निर्णय गरिएको थियो । सोहीअनुसार गत वर्ष तीनवटा पुलको मात्र निर्माण कार्य सकियो भने अन्य दुईवटा बाँकी रह्यो ।

निर्माण गनुपर्नेमध्ये प्रत्येक वर्ष पाँच÷पाँचवटाका दरले निर्माण गर्दै जाने योजनासहित गत वर्षको दुईवटा र यस वर्ष पाँचवटा गरी सातवटा पुलको निर्माण कार्य यसै वर्षभित्र सम्पन्न गर्नुपर्ने उहाँले बताउनुभयो ।

तर उपभोक्ता समितिमा स्थानीय राजनीतिक दलका नेताहरुको समेत संलग्नता हुने भएकाले काममा ढिलाइ भइरहेको छ, उहाँले भन्नुभयो,—“उपभोक्ताबाट काम गराउनै गाह्रो छ, उनीहरुलाई काम छिटो सक्न दबाब दिन पनि नमिल्ने भएकाले समय थप गरिरहनुपर्छ ।”

“काम सुरु नहुँदासम्म छिटो काम सुरु गर्नुप¥यो भन्दै उपभोक्ताहरु दबाब दिन आउँछन्, सम्झौता गरेर पेस्की दिएपछि काम सुरु गर्छन्, तर एकदम ढिला गरिदिन्छन्” उहाँले भन्नुभयो ।

लेले, झरुवारासीलगायतका स्थानबाट पनि पुलको माग भइरहेकाले त्यहाँ पनि सम्भाव्य अध्ययन गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

पुलको लट्ठा चुडिँएको, नट कस्नुपर्ने, पुलवरपरको झारपात उखेल्नेलगायतका कार्यमा समेत स्थानीय तथा प्रयोगकर्ताले ध्यान नदिने गरेपछि जिविसले पुलको रेखदेखका लागि भनेर कर्मचारी समेत खटाएको छ । यस कार्यका लागि प्रत्येक पुल नजिकका एकजना स्थानीयवासीलाई जिम्मा दिइएको छ । हाल ललितपुरमा ३८ वटा पुल सञ्चालनमा रहेको छ । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags:  ,

0 comments

Leave a Reply

Hot Items