ट्युसन र कोचिङको लागि ५० हजार धरौटी राख्नु पर्ने
Updated on: Thursday, January 3, 2013
जुम्ला, १९ पुस । जुम्ला जिल्लाभरिमा अव्यवस्थित तवरले धमाधम खोलिएका कक्षा आठ, नौ र दस एसएलसी, ११ र १२ का कोचिङ तथा ट्युसन तयारी कक्षालाई ५० हजार धरौटी शुल्क राखेर मात्र उक्त तयारी कक्षाहरू सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालय जुम्लाले निर्देशन दिएको छ ।
जाडोको समयमा जुम्ला सदरमुकाममा मात्र १० वटा कोचिङ तथा ट्युसन तयारी कक्षाहरू सञ्चालित छन् भने सदरमुकामबाहिर पाँचदेखि ६ ट्युसन तयारी कक्षा सञ्चालनमा छन् ।
विद्यार्थीहरू जिल्लाभरिका ट्युसन सेन्टरमा गरेर १५ देखि एक हजार ७०० को हाराहारीमा छन् । प्रत्येक कोचिङ तथा ट्युसन सेन्टरलाई प्रतिविद्यार्थीको तीन महिनाको भन्दै तीन हजारदेखि चार हजार ५०० सम्म रकम असुल गरिएको तथा विद्यार्थी एकै कक्षामा ५० देखि ५२ जनासम्म कोचिएर बसेको पाइन्छ भने एकजना शिक्षकले १४ घन्टासम्म कक्षा लिएको पाइएको छ ।
यतिबेला विद्यार्थीहरूबाट शिक्षकहरूले ७० देखि ८० प्रतिशतसम्म रकम असुल गरिसकेका छन् जसमा ४५ लाखभन्दा बढी रकम उठिसकेको जिशिका सम्बद्धको अनुगमन टोलीले बताएको छ ।
सञ्चालित कक्षाहरू अव्यवस्थित तथा सामाजिक सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै उक्त कक्षालाई व्यवस्थित र नियमन गराउन नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका अध्यक्ष बरमबहादुर महतको संयोजकत्वमा जिल्लाका क्रियाशील पत्रकारहरूले टोलीले अनुगमन गरेको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय जुम्लाद्वारा बरामद गरिएको २४० लिटर नक्कली मह जिल्ला प्रशासन कार्यालयको निर्देशनमा नष्ट गरिएको छ ।
करिब २६ वटा साना खाले ड्रममा मह जतिकै चिनी थप गरिएको स्याउ प्रशोधन कार्यालयले प्रमाणित गरेपछि उक्त नक्कली मह प्रहरी प्रशासन, गैसस प्रमुख र पत्रकारहरूको रोहवरमा नष्ट गरिएको छ । ३०० देखि ५०० का दरले बिक्री गर्दै आएको मह नष्ट गर्दा सवा एक लाख बराबरको लगानी खेर गएको अनुमान गरिएको छ ।
नक्कली मह व्यापारी पाँचजनालाई भने पहिलोपटकलाई माफी भन्दै प्रशासन कार्यालय जुम्लाले कुनै पनि जरिवाना नगरी छाडेको छ । रासस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Education
0 comments