Freesansar

www.freesansar.com
December 02,2012

प्रेमिका बनाउनु भन्दा बाइक किन्न गाह्रो , बाइक नभई प्रेमिका नबन्ने

Updated on:  Wednesday, March 20, 2013


बुद्धिसागर- आठ वर्षको उमेरमा साइकल चलाउन सिकेको मैले बाइक चलाउने आँट गर्न सकिनँ।

 २० वर्षको उमेरमा बाइकमाथि बसेर ५० वर्षको उमेरमा पनि नओर्लेकाहरू भन्छन्, 'साइकल चलाउन सक्नेले बाइक मज्जाले चलाउन सक्छ।'

सत्य हो। एकपल्ट सुर्खेतमा मैले दाइको बाइक चलाएको थिएँ। कोसिस गरेको भए म लाइसेन्स पनि लिन्थेँ होला। काठमान्डुका थोत्रा सडकमा कुदाउँथे होला।

ब्लु बुक र लाइसेन्सको विषयमा ट्राफिकसित झगडा गर्थें हुँला । बाइक जहीँतहीँ बिग्रन्छ भनेर पर्सको भित्री जेबमा पाँचसयको नोट राख्थेँ हुँला। जाम भएको बेला पेटीपेटी कुदाउँथेँ हुँला।

कुदिरहेका ठुल्ठुला गाडीको बीचको सानो स्पेसबाट फुत्त बाइक अगाडि हुत्ताउँथेँ हुँला। घन्टौंदेखि पेट्रोलको लाइनमा उँघिरहन्थेँ हुँला।

तर खोइ! जब-जब म बाइकको आवश्यकता बोध गर्छु, बाइक किन्ने मनसाय बनाउँछु, कुनै न कुनै घटना भइहाल्छ।
दुई वर्षअघिको कुरा ।

साथी उमेश खतिवडासित म अफिस सुन्धारा आइरहेको थिएँ। चर्को घाम थियो। लुखुर-लुखुर हिँड्नुपर्दा मन बोझिल पनि भएको थियो। म सोचिरहेको थिएँ, यदि बाइक भएको भए सर्टभित्र बतास कोचेर कुद्न पाइन्थ्यो।

उमेश पनि मलाई बाइक किन्न उक्साइरहेका थिए। सायद, मेरो बाइक भएको भए, उनी पछिल्लो सिटमा टुसुक्क बसेर अफिस आउन पाउँदा हुन्।

हामी सिंहदबारको फराकिलो पेटी हुँदै भद्रकालीतिर बढिरहेका थियौं। थोरै गाडी थिए, सडकमा। तर ती बेस्मारी हुइँकिइरहेका थिए। म बाइककै कुरा गर्दै सडकतिर हेर्दै हिँडिरहेको थिएँ।

एउटा बाइक हुइँकिदै आइरहेको थियो। पछिपछि टाटा मोबाइल। अचानक पछाडिबाट हुत्तिएर आएको टाटा मोबाइलले बाइकको पुच्छरमा सिङ जोत्यो। हावा खुस्किएको गुब्वाराझैं बाइक उछिट्टियो। र, बाइकसँगै चालक उछिटिए। बाइक त सडकमै खस्यो तर चालक हुत्तिएर सडकको किनारमा राखिएको सिमेन्टको ठूलो गमलामा ठोक्किए।


मैले पहिलोपल्ट गाडीले यसरी बाइक हिर्काएको देखेको थिएँ। मेरा हातगोडा लुला भए। टाटा मोबाइल घाइतेलाई उठाउनको सट्टा भाग्नलाई मोडिन थाल्यो। त्यही बेला सिटी बजाउँदै ट्राफिक प्रहरी आइपुग्यो।

बल्ल टाटा मोबाइलबाट ड्राइभर र दुई सहयोगी निस्के। र, घाइतेतिर दगुरे। हामी पनि दगुर्‍यौं। घाइते भुइँमा लतारिइरहेका थिए। मानिसहरू उनलाई बसाल्ने कोसिस गरिरहेका थिए। घाइतेको मुख बन्द थियो। कसेर बाँधिएको हेलमेटको चेपबाट रगतको धारा गालातिर खसिरहेको थियो।


'कत्तिको चोट लाग्यो?' ट्राफिक सोधिरहेको थियो।
घाइतेको मुख सिलाएझैं टम्म बन्द थियो। जब उनले मुख खोले- रगतको धारा र भाँचिएका दाँत भुइँमा खसे। र, उनी लल्याकलुलुक भए।

अघिअघि हिँडिरहेको बाइकलाई बेकाममा हिर्काएर भाग्न खोज्ने टाटा मोबाइलको ड्राइभर छेउमा निर्लज्ज उभिरहेको थियो।
मानिसको भीड बढेपछि उमेश र म अघि बढ्यौं। लामो मौनतापछि उमेशले मुख खोले, 'भो यार, बाइक नकिन्नुस्।'
...
जब-जब म बाइक किन्ने रहर गर्छु, यस्ता घटना आइपर्छन्। मैले चिनेका बाइकवालामध्ये थोरै होलान्, जसको दुर्घटना भएको छैन। कहिले हात भाँचिन्छ त कहिले खुट्टा। अघिल्लो दिन मज्जाले बिदा भएकाहरू भोलिपल्ट हातमा पलास्टर र सुन्निएको गाला लिएर आइपुग्छन्।

यस्सो हेर्दा लाग्छ- काठमान्डुमा बाइक चलाउनु भनेको जीवनलाई कालो पोलिथिनमा पोको पारेर बाइककै हेन्डिलमा झुन्ड्याउँदै हिँड्नुजस्तै हो। काठमान्डुका सडकमा बाइकल चलाउनु भनेको एकदमै 'रिस्की गेम' हो। तैपनि काठमान्डुमा सबैभन्दा सजिलो बाहन बाइक नै भएको छ।

र, अधिकांश मानिस बाइकमै यात्रा गर्छन्। यदि काठमान्डुका आकाशे पुलमा उभेर सडकमा हेर्ने हो भने बाइकको समुद्र नै देखिन्छ र बाइक एकले अर्कालाई लखेटेजस्ता देखिन्छन्।


काठमान्डु हतारको सहर भइसकेको छ। काठमान्डुबासीलाई कत्ति हतार छ? त्यो जान्न बाइकवालालाई हेर्नुस्। ट्राफिक जाममा सुद्ध बाइकहरू रोकिँदैनन्।

ती पेटीपेटी दगुर्छन् र आफ्नो भागमा पेटी परेका पैदलयात्रुको बाटो हडप्छन्। पेटीमै पनि हर्न बजाइदिन्छन्। मलाई लाग्छ- काठमान्डुका पेटीमा हिँड्ने अधिकांश यात्रु केही न केही कुराको झोँकमा हुन्छन्।

पहिलो झोँक आफू पैदल यात्रु हुनुपरेकोमा। दोस्रो बेरोजगार होला, तेस्रो अस्वस्थता होला, चौथो बढ्दै गएको मोटोपनको चिन्ता होला, पाँचौं सार्वजनिक यातायातमा झुन्डिएर हिँड्न मन नलागेकोले होला।

एकाध रहरले हिँड्ने होलान्। काठमान्डुका सडकमा कहीँकतै मात्र पेटी छन्। र, तिनको तीनचौथाइ भाग फुटपाथका पसलले अतिक्रमण गरिसके। एकचौथाइ बाटोमा अनेक तनाव लिएर हिँडिरहेका बेला पछाडिबाट हर्न बजाउँदै आउने बाइकसित कसलाई रिस उठ्दैन?
कवि मणि लोहनीले एकपल्ट भनेका थिए, 'म गोजीमा पैसा नभएको झोँकमा पेटीपेटी हिँडिरहेको थिएँ। एउटा बाइकवालाले पछाडिबाट हर्न बजायो। मेरो दिमाग फनक्कै घुम्यो।

मैले बाइकवालाको हेल्मेटमा मुड्की बजारँे। पछि आफ्नै हात दुख्यो।'काठमान्डुमा बाइक चलाउनु धेरैसित दुश्मनी मोल्नु हो। ट्याक्सी ड्राइभर आफ्नो सबैभन्दा ठूलो दुश्मन बाइकलाई ठान्छन्। र, चारपांग्रे गाडीका सबै चालक काठमान्डुको जाम केवल बाइकवालाको योगदान हो भनिहाल्छन्।

आरोप छ- यस्सो सानोतिनो जाम के सुरु भएको हुन्छ, बाइक चेपचेपबाट छिर्छन् र पाँच मिनेटको जामलाई आधा घन्टाको बनाइदिन्छन्। मलाई केही हदसम्म यो कुरा सत्य लाग्छ। काठमान्डुका बाइकमा बे्रक नै हँुदैनजस्तो ती कुदिरहन्छन्। तीस सेकेन्ड पनि कुर्दैनन्।


कुदिरहेका बाइक हेर्दा लाग्छ- पछाडिबाट पृथ्वी भत्किँदै आइरहेको छ र ती ज्यान जोगाउन भागिरहेका छन्।
र, बाइकको हतार देखेर चारपांग्रेहरू कराइहाल्छन्, 'सालेलाई कालले लखेटिरहेको छ।'


आफंैले बाइक चलाउन नसके पनि म कहिलेकाहीँ संयोग पर्दा बाइकको पछिल्लो सिटको यात्रु भएको छु। र, एकाध बाइकमा मात्र सन्तोषको यात्रा गरेको छु। नत्र अधिकांश बाइक-चालकको हाँक्ने तरिका देखेर कहिले उत्रिऊँजस्तो हुन्छ।

मैले भेटेका प्रायः बाइक चालकको एउटै मनोविज्ञान पाएको छु। जब बाइकको तीव्र रफ्तार देखेर डराउँदै 'स्पिड स्लो गर, डर लाग्यो' भन्छु, कुनै पनि बाइकको स्पिड स्लो हुँदैन। बाइक चालक झन् स्पिड बढाएर मज्जा लिन्छन्।


झन् पछाडि लपक्कै टाँसिएर बसेकी युवती भएपछि त बाइकको रवाफै अर्को। ती काठमान्डुको थोत्रो सडकमा बाइक कुदाउँदैनन्, रकेट उठाउँछन् र, पैदलयात्रु र चारपांग्रेको श्राप खान्छन्।
...
बाइकवालाका पनि आफ्नै दुख्ख छन्। थोरै बाइकवाला मात्र बाइक चढेकोमा खुसी होलान्। धेरै 'नकिनी नहुने भएको भएर मात्र किनेको' भनेर बर्बराइरहन्छन्। वषर्ौंसम्म बाइक हाँक्दा सिधै असर कम्मरमा पर्दोरैछ।

जाडोमा बाइक हाँक्दा स्याँठ सिधै घुँडा र छातीमा पर्दोरैछ। भुक्तभोगी भन्छन्, 'बाइक चलाउँदाको असर ४५ वर्ष नाघेपछि देखिन्छ।'

बतासको कालो धुवाँ, धुलो खाँदै दिनभर कुदिरहनु सास्ती नै हो। तर, काठमान्डुमा डेरा भाडा तिर्न, भात खान र छोराछोरीलाई पढाउन बाइकवालाले काठमान्डुका सडकमा नकुदी सुख्ख छैन।

ठाउँ-कुठाउँ आकाशलाई पखाला लागेजसरी ह्वात्त खस्ने झरी बाइकवालाको दुश्मन नै हो। चाबहिलमा लुछुप्पै भिजेर पुतलीसडक पुग्दा चर्को घाम लागेको हुन्छ। लामो जाम जब खुल्छ, त्यै बेला बाइक स्टार्ट हुँदैन। असिनपसिन हुँदै किक हानिरह्यो, पछाडिको गाडीको लस्करको गाली खायो। र, ङच्च हाँस्दै बाइक लतार्‍यो।

दिनभरिलाई मुड अफ।
बल्लतल्ल किनेको बाइक एक वर्ष भाको छैन, अलिकति उकालो चढ्यो कि घोडाझैं हिन्हिनाउन थालिहाल्छ। रुन्चे अनुहार लाएर वर्कसप गयो, कम्तिमा पाँच सय डाढिहाल्छ। बाइक किनेपछि पहिलो दिनमै पर्सको चेपगोजीमा पाँचसयको नोट पट्याएर राखिहाल्नुपर्छ। ममः खान मन लाग्छ- तर ज्यान गए, पाँचसयको छुट्टा गर्नु हुँदैन।

मट्टितेल मिसिएको पेट्रोलले कम्तिमा सातपल्ट गधाझैं नहाँसी बाइक स्टार्ट हुँदैन। पछिपछि त त्यस्ले धुवाँको ठूलो मुस्लै फाल्छ। धुवाँको मुस्लो फाल्दै कुद्यो भने समाजको बदनाम मान्छेझैं छिछि, दुरदुर भइहालिन्छ।

जेनतेन बाइक कुदाइरह्यो। ठाउँ कुठाउँ ट्राफिकले हात ठड्याउँछ। अनेकथरी गल्ती खोज्छ र चिट काट्छ। दाह्रा किट्नैपर्छ। एडुकेसन बुक हाउसका रमन राउतले एकपल्ट अमिलो मुख लाउँदै भनेका थिए, 'हेर्नुस् दाइ, हिजो म पसलबाट घर फर्किरहेको थिएँ।

थापाथली चोकमा चेकिङ रैछ। ट्राफिक्नीले बाटो रोकी र ब्लु बुक मागी। साउको बाइक, मसित फोटोकपी मात्र थियो। ट्राफिक्नीले ओरजिनल ब्लुबुक मागी। मैले भनेँ- यो साउको बाइक हो, ओरजिनल उहाँसितै हुन्छ। म त कामदार, फोटोकपी मात्रै छ। अनि दाइ, त्यसले मलाई रद्दी गाली गर्दै भनी- आफैं बाइक किन्न सकिनस्?'

रमनको भनाइ थियो- किन्न सक्ने भए त कालो सिसा भएको गाडी नै किन्दो हुँ, त्यसले स्यालुट पनि गर्दी हो।'
बाइकवालाका दुख्ख।

ट्राफिकसित झगडा गर्दै जेनतेन बाइक कुदाइरह्यो। एकठाउँ रोकेर राखेको बाइक फर्किंदा भेटिँदैन। चोरले कति बेला हेन्डिल लक सुद्ध खोलेर कुदाइसकेछ। प्रहरीमा निवेदन दियो, बस्यो। बाइक फेरि कहिल्यै भेटिँदैन।

बाइकवालाहरू भन्छन्, 'काठमान्डुमा प्रेमिका बनाउनुभन्दा बाइक किन्न गाह्रो छ। बाइक नभई प्रेमिका हुँदैनन्।'
कत्ति दुख्ख गरेर किनेको बाइक गयो। बाइकवालाहरू प्रेमिकाले छाडेर गएभन्दा बढी उदास हुन्छन्। फेसबुकमा 'मेरो बाइक हरायो' भनेर लेख्यो। सैयौं 'समवेदना' आउँछन्। कसैकसैले त 'लाइक' पनि गरिदिन्छन्।

यता उदास भयो, उता बाइक भारत पुगिसकेको हुन्छ। मेरा एकजना मित्र यदुनाथ बञ्जाराले ५८ सालतिर पत्रिकामा रिपोर्टिङ गरेका थिए- बाइक चोरीबारे। बाइक चोर्नेहरूको समूहमा कम्तीमा ३ जना हुँदा रैछन्।

जब बाइक पार्किङ हुन्छ, पहिलो बाइककै छेउमा बस्छ। दोस्रो छेउछाउका मानिस नियालिरहन्छ। र, तेस्रो बाइकवालाका पछि लाग्छ। बाइकवाला फर्किन लाग्यो भने उसले सिटी बजाउँछ या त जनाउ दिन कुनै न कुनै इसारा गर्छ। अनि, उनीहरू आफ्नैझैं मज्जाले बाइक कुदाउँछन् र लैजान्छन्।

र, चोरिएका कति बाइक सग्लै भारत पुग्छन् भने कतिका मोटर मात्र र, बाइकको मोटर बिहारतिर पानी निकाल्ने पम्प बनाइन्छ।
यदुनाथको रिपोर्टिङको राम्रै चर्चा भएको थियो। तर, त्यसको तीन दिनपछि उनकै बाइक हरायो।
...
बाइक काठमान्डुका मध्यवर्गीय मानिसको बहान हो। र, सानोतिनो वैभव पनि। अगाडि सानी छोरी र पछाडि श्रीमती बोकेर कहिलेकाहीँ नगरकोटको लोकल कुखुरा र ककनीमा ट्राउट माछा खान हिँडेका बाइकवालाहरू जति खुसी पनि कोही लाग्दैन।
तर, त्यही बाइक चोरी भो भने? पीडा आफैं कल्पना गर्नुस्।

मेरो मौलिक धारणा यत्ति हो- अहिले विहारको जुन प्रगति भएको छ। त्यसमा काठमान्डुका बाइकवालाको पनि योगदान छ। किनभने, हाम्रै बाइकवालाको मोटरले गरिब किसानको खेत हराभरा भएको होला।

तर मलाई बिहारको प्रगतिमा कुनै योगदान दिनु छैन, त्यसैले बाइक किन्दिनँ।

नागरिक दैनिकमा प्रकाशित भएको यो लेख बुद्धिसागरले लेखेका हुन | बुद्धिसागर लेख्ने छुट्टै कला छ | उनका लेखहरु घुमाउने पाराले मन छुने खालका हुन्छन |

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items