Freesansar

www.freesansar.com
December 02,2012

बिहेकै दिन परिवार नियोजनका साधनबारे जानकारी लिनु पर्ने

Updated on:  Saturday, April 27, 2013

बैतडीको उत्तर-पूर्वी हाट गाविसका बासिन्दा जो कसैले पनि अब बिहे गरेकै दिन स्थानीय स्वयम्सेविकासँग कम्तीमा पनि एक घन्टा अनिवार्य बसेर परिवार नियोजनका अस्थायी साधनबारे जानकारी लिनुपर्ने भएको छ ।

स्थानीय हाट स्वास्थ्यचौकीले गरेको निर्णयअनुसार विवाहित जोडीले परिवार नियोजनका साधनबारे अनिवार्य रुपमा परामर्श लिनैपर्ने व्यवस्था गरिएको हो । ‘घरपैसो साधन परिचय कार्यक्रम’ अन्तर्गत व्यवस्थित परिवार नियोजनका लागि यस्तो सल्लाह लिनुपर्ने निर्णय गरेको स्वास्थ्यचौकी प्रमुख विनोद कुँवरले जानकारी दिनुभयो ।

गाउँघरमा अझै पनि कम उमेरमा विवाह हुने र सानै उमेरमा गर्भाधारण भई आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्ने हुँदा यस्तो निर्णय गरी कार्यान्वयनको अन्तिम चरणमा रहेको कुवँरले बताउनुभयो ।

घरपैसो साधन परिचय अभियान नाम दिइएको यस कार्यक्रमबारे महिला स्वयम्सेविकाहरुलाई तालिम दिइसकिएको र परिवार नियोजनका साधनसहितको पोस्टर छपाएर योजना कार्यान्वयनमा लैजाने हाट स्वास्थ्यचौकीले जनाएको छ ।

स्वास्थ्यचौकीका अनुसार कण्डम, डिपो सुई, पिल्सलगायतका परिवार नियोजनका अस्थायी साधनहरु नवविवाहित जोडीलाई परामर्शसहित तत्काल उपलब्ध गराउने र स्थायी साधनबारे विस्तृत जानकारी दिइने छ । “अस्थायी वा स्थायी परिवार नियोजनका साधन प्रयोग गर्ने/नगर्ने स्वतन्त्रता विवाहित जोडीलाई नै हुनेछ”- स्वास्थ्यचौकी प्रमुख कुवँरले भन्नुभयो-”हामी त्यस्ता साधनहरुका बारेमा राम्ररी बुझाएर प्रयोगमा ल्याउन सल्लाह मात्रै दिन्छाँै ।”

जिल्लामै नयाँ किसिमको अभियान सुरु गरेकोमा जिल्ला स्वास्थ्य कार्यालयप्रमुख डा गुणराज अवस्थीले प्रसन्नता व्यक्त गर्नुभयो । जिल्लाको उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा आफ्नो परिचय बनाएको हाट स्वास्थ्यचौकीको यो निर्णय व्यवस्थित परिवार योजना र प्रजनन स्वास्थ्यको दृष्टिले सराहनीय भएको डा अवस्थीले प्रतिक्रिया दिनुभयो ।

अघिल्लो चौमासिक मूल्याङ्कनको नतिजाअनुसार हाट स्वास्थ्यचौकी जिल्लाभरिका स्वास्थ्यचौकीमध्ये पहिलो स्थानमा आएको छ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यसेवा प्रभावकारी बनाउन उत्कृष्ट १० स्वास्थ्य संस्था र सबभन्दा पछाडि रहेका १० स्वास्थ्य संस्थाबीच अन्तरक्रिया पनि गराएको छ । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items