Freesansar

www.freesansar.com
December 02,2012

तिहारको आज अन्तिम दिन भाइटीका लगाएर मनाइँदै

Updated on:  Thursday, November 15, 2012

कात्तिक ३० – तिहारको अन्तिम दिन आज देश तथा विदेशमा नेपाली दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाउँदैछन् ।


भाइटीकाका लागि शुभसाइत बिहान ११ बजेर २३ मिनेटमा सुरु हुने र सूर्यास्तसम्म टीका लगाउन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्टचिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाउने यमराजको प्रार्थनास्वरूप “धर्मराज नमस्तुभ्यं नमस्ते यमुनाग्रज । पाहि मां किङ्करैः साद्धं सूर्यपुत्र नमोऽस्तुते” मन्त्रवाचन तथा पूजा गरेर आफ्ना दाजुभाइलाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ । दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइले आज काठमाडौँको रानीपोखरीको बीचमा प्रताप मल्लले बनाएको भनिएको यमलेश्वर महादेव मन्दिर गई दर्शन गरी टीका लगाउँछन् । उक्त मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items