Freesansar

www.freesansar.com
December 02,2012

महिला हिंसामा संलग्न व्यक्तिलाई कडा कारबाही गर्नुस् – प्रम

Updated on:  Sunday, December 30, 2012

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री डा बाबुराम भट्टराईले पछिल्ला दिनमा महिला हिंसाको घटना बढेको भन्दै दोषीहरूमाथि तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएकोे छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा महिला हिंसा विरोधी सेलको बैठकमा सुरक्षा निकायका प्रमुखहरूलाई विशेष निर्देशन दिँदै प्रधानमन्त्रीले महिला हिंसाका सम्बन्धमा आएका उजुरी तथा जाहेरीलाई केलाएर तत्काल कारबाहीमा लग्न निर्देशन दिनुभएको हो ।


महिलासँग जोडिएका कुनै पनि घटना आए तत्काल कारबाही गर्न र दोषीलाई कुनै बहानामा नछाड्न निर्देशन दिँदै उहाँले मेलमिलाप गराउनुभन्दा पनि कारबाही प्रक्रिया नै अगाडि बढाउन सुझाव दिनुभयो ।

देशका विभिन्न स्थानमा महिला हिंसाका घटना वृद्धि भएकामा आफू स्तब्ध भएको बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘वैदेशिक रोजगारीबाट फर्केकी महिलाको अस्मिता लुट्ने काम राज्यकै निकायबाट हुनु अत्यन्तै गम्भीर हो । यो घटनामा संलग्न जोकोहीलाई पनि कडा कारबाही हुन्छ र दोषीलाई कुनै पनि हालतमा पनि छोडिंदैन ।’’

प्रधानमन्त्रीले भन्नुभयो – “पछिल्ला घटनाहरूमा नेपाल प्रहरीको अनुसन्धान चुकेको छ, प्रहरीले जुन स्तरमा दोषीहरूलाई कारबाही गर्नुपर्ने हो, त्यो हुन सकेको छैन ।” अबको एक हप्ताभित्र नजिता देखिने गरी काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारीले राससलाई जानकारी दिनुभयो ।

प्रवक्ता अन्सारीका अनुसार सुरक्षा निकायले कानुनअनुसार कारबाही नगरे सुरक्षा निकायमाथि नै कारबाही गर्न आफू बाध्य हुने प्रधानमन्त्रीले बताउनुभएको थियो ।
प्रधानमन्त्रीले अनामनगरमा रहस्यमय तरिकाबाट मृत अवस्थामा फेला परेकी सरस्वती अधिकारी (सुवेदी)को पुनः शव परीक्षण गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरी महानिरीक्षक कुवेरसिंह रानालाई निर्देशन दिनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री डा भट्टराईले मृतक सुवेदीकी आमा र बहिनीसँगसमेत भेट गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको महिला आयोगकी प्रवक्ता अन्सारीले जानकारी दिनुभयो ।

यसैगरी वैदेशिक रोजगारबाट फर्केकी भोजपुरकी एक युवतीमाथि त्रिभुवन विमानस्थलमा भएको लुटपाट र बलात्कारका घटनामा संलग्न अध्यागमनका कर्मचारी र प्रहरीलाई हदैसम्मको कारबाही गर्न गत बिहीबार निर्देशन दिइएको थियो ।

पीडितलाई तत्कालको लागि सरकारले राहतको व्यवस्था गरेको र सो व्यवस्थाबारे गलत प्रचार नगर्न समेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको थियो ।

उता लामो समयदेखि बेपत्ता छोरी मैयाँ महर्जनको खोजी कार्यलाई तीव्र बनाउन प्रधानमन्त्रीले सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले महिलाविरद्धका हिंसा रोक्न ठोस सुझाव दिन अधिकारकर्मीहरूलाई आग्रह समेत गर्नुभएको थियो ।

आजको बैठकमा मुख्य सचिव लिलामणि पौड्याल, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव, राष्ट्रिय महिला आयोगका पदाधिकारीहरूलगायत महिला अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो । रासस

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items