दिनहु १०० भन्दा बढीको लाइसेन्समा प्वाल पारिदै
Updated on: Wednesday, December 12, 2012
काठमाडौँ, २६ मङ्सिर । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो समयसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन नआउनेको लाइसेन्स नष्ट गर्ने भएको छ ।
मादकपदार्थ सेवनलगायत सडक प्रयोग अनुशासनको कारबाहीमा परेकाको अनुमतिपत्र महाशाखामा अत्यधिकरूपमा जम्मा भएपछि ट्राफिक प्रहरीले नष्ट गर्ने योजना बनाएको हो ।
लाइसेन्सलगायतका कागजपत्र समयमै लिन नआएपछि उनीहरूको लाइसेन्स धुलाउने निक्र्यौलमा प्रहरी पुगेको छ ।
सो प्रयोजनका लागि निकट भविष्यमै सूचना जारी गर्ने तयारी भइरहेको महाशाखाका वरिष्ठ उपरीक्षक लव विष्टले जानकारी दिनुभयो । मादकपदार्थ सेवनको कारबाहीमा परेकाका आठ हजार ५०० भन्दा बढी लाइसेन्स महाशाखामा थुप्रिएका छन् ।
अभियानमा एक वर्षको अवधिमा ६६ हजार ६७१ जना कारबाहीमा परेका थिए । लामो समयसम्म कारबाहीमा परेका चालकहरूले ब्लू बुक र लाइसेन्स लिन नआएपछि महाशाखामा ती काजगपत्रको चाङ लागेको छ ।
विसं २०५७ यता सवारी अनुशासनमा कारबाहीमा परेका केही चालकल समेत अझैसम्म लाइसेन्स लिन नआएपछि महाशाखामा जम्मा भएको लाइसेन्सको सङ्ख्या १० हजारभन्दा बढी रहेको बुझिएको छ ।
ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध एक वर्षअघि मङ्सिर १७ गतेबाट विशेष अभियान सञ्चालन गरेको हो । त्यसबाट सरकारलाई रु पाँच करोड ८२ लाख ५० हजार राजस्व सङ्कलन भएको महाशाखाले जनाएको छ ।
मादकपदार्थ सेवन गरी सचारी चलाउनेलाई कारबाहीस्वरूप एक हजार जरिवाना लिने गरेको छ । महाशाखाले यही मङ्सिर २२ गतेदेखि मादकपदार्थ सेवन गरी सवारी चलाउने चालकको सवारी चालक अनुमतिपत्र प्वाल पार्ने सुरु गरिसकेको छ ।
पाँच दिनको अवधिमा मात्रै ४५९ जनाको लाइसेन्स प्वाल पारिसकेको महाशाखाले जनाएको छ । अहिले दैनिक सरदर १०० को सङ्ख्यामा मादकपदार्थ सेवन गरी सवारी चलाउने चालकहरू कारबाहीमा पर्दै आएका छन् । गएराति भने १७१ जना मापसे कारबाहीमा परेका महाशाखाले जनाएको छ ।
यसरी पटक÷पटक पाँच पटकसम्म कारबाहीमा पर्नेको अनुमतिपत्र निलम्बन गरिने जनाएको छ ।
यसका अतिरिक्त महाशाखाले मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने २० जना सवारी चालकविरुद्ध सार्वजनिक अपराधको मुद्दासमेत चलाइसकेको महाशाखाका प्रवक्ता पवन गिरीले जानकारी दिनुभयो ।
मादकपदार्थ सेवनविरुद्धको कारबाहीलाई तीव्रता दिएपछि काठमाडौँ उपत्यकामा मादकपदार्थ सेवनबाट हुने सवारी दुर्घटनामा आधा कमी आएको छ । आर्थिक वर्ष २०६६÷६७ मा उपत्यकामा मादकपदार्थ सेवन गरी सवारी चलाउँदा ३९७ वटा दुर्घटना भएकोमा गएको आर्थिक वर्षमा यो सङ्ख्या घटेर १८९ मा झरेको छ ।
त्यसैगरी महाशाखाले आज बिहान ९ बजेदेखि ११ बजेसम्म उपत्यकाका विभिन्न स्थानमा सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर आकस्मिक जाँच गर्दा १७१ जना चालक कारबाहीमा परेको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।
सडक लेन अनुशासनको उल्लङ्घन, इशारा उल्लङ्घन, गर्ने, क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोक्ने र सडकमा राखिएका बत्तीको सङ्केतको बेवास्था गर्ने चालकहरू कारबाहीमा परेका थिए । रासस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments