प्रशासनले एघार कैदी हिरासतमा लियो, सिन्धुलीमाढीमा तनाव कायमै
Updated on: Friday, January 4, 2013
सिन्धुलीमाढी, २० पुस । सिन्धुली कारागारमा बुधबार राति कैदीबन्दीबीच झडपमा कैदी निरज देवकोटाको मृत्युको विषयलाई लिएर आज पनि सिन्धुलीमाढी तनावग्रस्त रहेको छ ।
नेपाली काँग्रेस सिन्धुली र मृतकका आफन्तहरुले बजार तथा यातायातका साधन बन्द गरी बजार क्षेत्रका केही स्थानमा टायर बालेर बजार क्षेत्रका विभिन्न स्थानमा नाराजुलुस गरिरहेका छन् ।
बिहान ८ बजेदेखि प्रशासनले लगाएकोे कफ्र्यु आदेशसमेत अहिले ३ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले भन्नुभयो, ‘‘हिंसा भड्किने अवस्था आएमा पुनः कफ्र्यु आदेश जारी गर्ने अवस्थामा छौँ । तर स्थिति सामान्य रहेमा कफ्र्यु आदेश जारी गर्ने अवस्थामा छैनौँ ।’’
पीडित पक्षले न्यायिक छानबिन आयोग गठन, दोषीलाई कारबाही, मृतकलाई सहिद घोषणा गरिनुपर्ने र पीडितलाई उचित क्षतिपूर्तिको माग गर्दै नाराबाजी गरिरहेका छन् भने हालसम्म मृतक देवकोटाका आफन्तहरुले शव बुझेका छैनन् ।
परिवारजनलाई थाहा नै नदिई काठमाडौँ पठाएकाले प्रशासनले नै देवकोटाको शव सिन्धुली ल्याउनुपर्ने माग रहेकोसमेत मृतकका आफन्त केदारप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
त्यसैगरी, बुधबार राति सिन्धुली कारागारमा देवकोटामाथि कुटपिटमा संलग्न भएको आरोपमा ११ जनालाई छानबिनका लागि हिरासतमा लिइएको जानकारी प्रजिअ दिनुभयो । रासस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: News
0 comments