Freesansar

www.freesansar.com
December 02,2012

काठमाडौँ बासीलाइ सित्तैमा दुध

Updated on:  Saturday, March 30, 2013

१७ चैत, काठमाडौँ । सीताराम गोकुल मिल्क्सले राजधानीमा दूध चखाउने अभियान सुरु गरेको छ । एक साताअघिदेखि सुरु भएको सो अभियान आगामी दुई महिनासम्म सञ्चालन हुनेछ ।

प्रत्येक दिन बिहान ६-३० बजेदेखि ८-३० बजेसम्म उक्त मिल्क्सबाट खटिएको टोलीले चोक चोकमा दूध उमालेर दैनिक कम्तीमा पाँच सय जनालाई खुवाउनाका साथै डेरीबाट उत्पादन भएका दूध, घ्यु, बटर, पनिरलगायत वस्तुको गुणस्तरबारे प्रत्येक जानकारी लिनेछ ।

 अभियान अवधिभर काठमाडौँ उपत्यकाका मुख्य मुख्य ६१ चोकमा दूध उमालेर खुवाइने बताइएको छ ।


सीताराम गोकुल मिल्क्सले प्रतिदिन एक लाख २० हजार लिटर दूध प्रशोधन गरेर वितरण गर्ने क्षमता राख्ने भए तापनि हाल उपत्यकामा ४२ हजार लिटर दूध वितरण गर्दैआएको छ । उद्योगपति केडिया समूहद्वारा सञ्चालनमा ल्याइएको मिल्क्सबाट प्रशोधित दूध प्रतिपाकेट रु २५ बजार मूल्य रहनाका साथै घ्युको मूल्य प्रतिकेजी रु ६१० कायम गरिएको उक्त डेरीका प्रतिनिधि जनक रावलले बताउनुभयो ।

मिल्क्स् २०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा स्थापना भई सञ्चालन हुँदैआएको छ । उक्त मिल्क्सबाट प्रशोधन गरिएको रातो पाकेटमा आउने गरेकामा पछिल्लो समय अन्य डेरीले समेत रातो पाकेटमा दूध प्रशोधन गरेर बजार ल्याउन थालेपछि ग्राहकमा सीताराम दूधको पहिचानका बारेमा अन्योल सिर्जना भएको उद्योगको भनाइ छ ।

मिल्क्सले ग्राहकसँग भेटघाट गरी आफ्नो उत्पादनका बारेमा प्रतिक्रिया लिई गुणस्तर सुधार गर्ने योजनाअन्तर्गत दूध चखाउने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत दैनिक रुपमा ५० लिटरभन्दा बढी दूधको स्वाद चाख्नका लागि सर्वसाधारणमा निःशुल्क रुपमा उपलब्ध गराइँदैआएको छ । मिल्क्सले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध सङ्कलन गरिरहेको छ ।

दूधबाट प्रोटिन, लिपिडस, क्याल्सियम र पोटासियम जस्ता पौष्टिक तत्व पाइनाका साथै स्वस्थ शरीर र नियमित विकासमा दूधको महत्व आधुनिककालमा समेत वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ । रासस

Sitaram Gokul Milks Kathmandu

हाम्रो फेसबुक पेज लाइक गर्नुहोस

Tags: 

0 comments

Leave a Reply

Hot Items