रानीहरुले नुहाउने पोखरी सर्वसाधारणले हेर्न पाउने
Updated on: Wednesday, November 28, 2012
ललितपुर, १३ मङ्सिर । मल्लकालीन रानीहरुले नुहाउने यहाँका पोखरी अब सर्वसाधारणले पनि छिट्टै हेर्न पाउने भएका छन् ।
पाटन दरबार क्षेत्र छिर्ने पर्यटकलाई रोयल बाथ भन्दै पथप्रदर्शकहरुले सुन्दरीचोक देखाउने गरेको भए पनि अब भने साँच्चिकैको रोयल बाथ अर्थात् रानीहरुले नुहाउने पोखरी हेर्न पाउने भएका छन् ।
मल्लकालपछिका अन्य राजाहरुको शासन सकिसक्दा पनि राजा सिद्धिनरसिंह मल्लले निर्माण गरेको सो पोखरीलाई सर्वसाधारणका लागि प्रवेश खुल्ला गरिएको थिएन । तर अब काठमाडौँ उपत्यका संरक्षण कोषले पाटन दरबार क्षेत्रको मुख्य चोकहरुको पुनः निर्माण कार्य थालेपछि भने सर्वसाधारणले पनि सो स्थानको अवलोकन गर्न पाउने भएका हुन् ।
पोखरीको काम लगभग सम्पन्न भइसकेको छ, कोषका प्रमुख रोहित रञ्जितकारले भन्नुभयो– “अब पोखरी वरिपरि मिलाउन बाँकी छ । सुन्दरीचोक पछाडि रहेको बगैँचाको काम पनि अलिकति बाँकी छ । यो सकिने बित्तिकै हामी पाटन सङ्ग्रहालयलाई यसको जिम्मा दिनेछौँ, अब करिब ६ महिनापछि सर्वसाधारणले यो पोखरीको अवलोकन गर्न पाउने छन् ।”
यो क्षेत्र पनि सङ्ग्रहालयकै रुपमा रहने भएकाले दर्शकले ऐतिहासिक पोखरी हेर्दै बस्न चाहेमा नजिकै बस्ने व्यवस्था पनि मिलाएका छौँ, दरबार क्षेत्रको अवलोकनपछि एकछिन सुस्ताउने ठाउँका रुपमा पनि यस पोखरीलाई राख्न खोजेका हौँ, उहाँले भन्नुभयो ।
उहाँका अनुसार पोखरीको नाम भण्डारखाल पोखरी हो, तर पथ प्रदर्शकले पर्यटकलाई गलत सूचना दिने गरेका छन् । उहाँले गुनासो गर्नुभयो– “सुन्दरीचोकलाई भण्डारखाल पोखरी अर्थात् रोयल बाथ भन्दै अवलोकन गराउने गरेका छन् ।” यतिमात्र हैन विभिन्न ऐतिहासिक तथा सूचनात्मक पुस्तिकामा समेत सुन्दरी चोकलाई रोयल बाथ भनेर उल्लेख गरिएको छ ।
सन् २००२ देखि निर्माण कार्य सुरु गरे पनि रकम अभावका कारण बीचमा स्थगित हुने र निर्माण कार्य पुनः सुरु हुने भइरहेको उहाँले बताउनुभयो । सरकारका तर्फबाट पुनः निर्माणका लागि रकम नलिएकाले अन्य विदेशी दातृ निकायको मुख ताक्नुपर्ने अवस्था छ, उहाँ भन्नुहुन्छ ।
कोषले पाटन दरबार क्षेत्रभित्र पर्ने सुन्दरीचोक, मूलचोक, कोतपाटी, दरबार छिर्ने ढुङ्गाका दुईपटा प्रवेशद्वार र आदर्श कन्या विद्यालयको पुनः निर्माणका लागि परियोजना ल्याएको थियो । रु साढे तीन करोडको लागतमा दरबारको पुनः निर्माण कार्य सुरु गरिएको थियो ।
राजा सिद्धिनरसिंह मल्लले विसं १६४७ मा पाटन दरबारको निर्माण गरेका थिए । १०४ वर्षसम्म बाँचेका राजा सिद्धिनरसिंहले दरबारमा विभिन्न प्रकारका परिवर्तन गरेका थिए । उनीपछि उनका छोरा श्रीनिवास मल्लले १६६० सालमा मूलचोक निर्माण गरी दरबारको क्षेत्र विस्तार गरेका थिए ।
त्यतिबेला निर्माण गर्दा प्रयोग गरिने काठ हाल नपाइने र अत्यन्त महँगो हुने भएकाले पनि पुनः निर्माण कार्यमा ढिलाइ भइरहेको छ । हाल कोतपाटी पूर्णरुपमा पुनः निर्माण भइसकेको छ भने सुन्दरीचोक र मूलचोकको काम अझै बाँकी छ ।
मल्लकालपछि शाहकालमा आइपुग्दा रणबहादुर शाहले विसं १८१० मा दरबार क्षेत्रमा हालको आदर्श कन्या माविको भवन पनि थपेका थिए ।
उपत्यकामा पाटन दरबार क्षेत्रलाई प्रस्तरकला, काष्ठकला र धातुकलाको उत्कृष्ट नमुनाका रुपमा लिइन्छ । काठमाडौँ तथा भक्तपुरको दरबारमा मल्लकालपछिका अन्य राजाहरुले आफ्नो दरबारका रुपमा सञ्चालन गरेकाले केही न केही परिवर्तन गराएका थिए । तर पाटनमा भने कुनै पनि प्रकारको परिवर्तन नभएकाले यहाँको दरबारको मौलिकता हराएको छैन– प्रमुख रञ्जितकारले दाबी गर्नुभयो ।
ऐतिहासिक तथा पुरातात्विक महत्वको उक्त दरबारको सुन्दरीचोक हालसम्म सर्वसाधारणलाई खुल्ला गरिएको थिएन । तर यस्ता महत्वपूर्ण वस्तुमा सर्वसाधारणको पहुँच हुनुपर्ने भएकाले हामीले पुनः निर्माण गरी खोल्न लागेका हौँ, उहाँले भन्नुभयो । -अन्जली रम्तेल/रासस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Society
0 comments