कवि शिरोमणि पौड्यालको जन्मजयन्ती आज
Updated on: Sunday, December 30, 2012
काठमाडौँ, १५ पुस । कवि शिरोमणि लेखनाथ पौड्यालको १२८ औँ जन्मजयन्तीको अवसरमा त्रिमूर्ति निकेतनले आज सञ्चारग्राममा कवि शिरोमणिको सम्झनामा एक साहित्यिक कार्यक्रम तथा श्रद्धाञ्जलिसभाको आयोजना गर्यो ।
सो कार्यक्रममा शिरोमणिको त्रिमूर्ति निकेतनमा रहेको पूर्णकदको सालिकमा शिरोमणि काव्य प्रतिष्ठानका संयोजक रामबाबु प्रसाईं (खनुपरुदे), इन्दिरा प्रसार्इं, नरेन्द्र प्रसाईं, यादव भट्टराईलगायतका साहित्यकारले माल्यार्पण गर्नुका साथै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
त्यसैगरी ठाकुर शर्मा, बाबा बस्नेत, शान्ती रिसाललगायतका कवि कवयित्रीहरुले लेखनाथको स्मरणमा कवितावाचन गर्नुभएको थियो ।
विसं १९४१ पुस १५ गते कास्कीको अर्गौअर्चले गाउँमा जन्मनुभएका लेखनाथलाई विसं २००८ मा कवि शिरोमणिको उपाधिबाट सम्मान गरिएको थियो ।
उनलाई विसं २०११ सालमा रथयात्रा गरी सम्मान गरिनुका साथै साहित्यिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप मरणोपरान्त विसं २०२६ सालमा त्यसबेलाको नेपालको सबभन्दा ठूलो त्रिभूवन प्रज्ञा पुरस्कारबाट सम्मानित गरिएको थियो ।
शिरोमणि पौड्यालका पिँजडाको सुगा, तरुण तपसी, बुद्धि विनोद, गङ्गा गौरी, लालित्य, ऋतु विचारलगायतका डेढ दर्जन साहित्यिक कृति रहेका छन् । उनको विसं २०२२ फागुन ७ गते निधन भएको थियो । रासस
हाम्रो फेसबुक पेज लाइक गर्नुहोस
Tags: Society
0 comments